You are viewing the translated version of आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य कार्यविधि.

Rule 84
आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य कार्यविधि
(१) कार्यालय प्रमुखले आफ्नो कार्यालयको विनियोजन, राजस्व, धरौटी, आम्दानी तथा खर्च वा सम्पत्ति तथा दायित्व र प्रचलित कानून बमोजिम खडा भएको कार्यसञ्चालन वा अन्य सार्वजनिक कोषको लेखा आन्तरिक लेखापरीक्षणको लागि खटिएको आन्तरिक लेखापरीक्षकलाई उपलब्ध गराउनु पर्नेछ।
(२) विदेशस्थित नेपाली नियोगको आन्तरिक लेखापरीक्षणको लागि महालेखा नियन्त्रक कार्यालयले कारोबारको प्रकृति र परिमाणको आधारमा आन्तरिक लेखापरीक्षक खटाउन सक्नेछ।
(३) कुनै आयोजना वा वित्तीय जोखिम देखिएको क्षेत्रमा विशेषज्ञ समेतको सेवा लिई आन्तरिक लेखापरीक्षण गर्नु पर्ने देखिएमा महालेखा नियन्त्रक कार्यालयले आवश्यकता अनुसार विशेषज्ञ तोकिदिन सक्नेछ। त्यसरी विशेषज्ञ तोकिएकोमा आन्तरिक लेखापरीक्षकले सोको प्रतिवेदन सम्बन्धित लेखा उत्तरदायी अधिकृत समक्ष र महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ। आन्तरिक लेखापरीक्षकले आफ्नो आन्तरिक लेखापरीक्षण प्रतिवेदन पेश गर्दा त्यस्तो प्राविधिक प्रतिवेदन समेत समावेश गर्नु पर्नेछ।
(४) प्रदेश तथा स्थानीय तह वा प्रचलित कानून बमोजिम स्थापना भएको कुनै बोर्ड, समिति वा यस्तै प्रकृतिका अन्य संस्थाबाट आन्तरिक लेखापरीक्षणको लागि अनुरोध भई आएमा महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षण गर्न सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई तोक्न सक्नेछ।
(५) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्तर-सरकारी अख्तियारी अन्तर्गत भएको निकासा खर्चको आन्तरिक लेखापरीक्षण सम्बन्धित अख्तियारी दिने निकायको आन्तरिक लेखापरीक्षकले गर्नेछ।
(६) आन्तरिक लेखापरीक्षकले आन्तरिक लेखापरीक्षण गर्दा देहायका कुराको जाँच गर्नु पर्नेछः-
(क) कार्यालयमा हुने बिनियोजन, राजस्व, धरौटी, सम्पत्ति तथा अन्य सरकारी कोषको आम्दानी तथा खर्च र त्यसको लेखाङ्कन प्रचलित कानूनद्वारा निर्धारित प्रक्रिया अनुरूप भए वा नभएको,
(ख) कार्यालयको वित्तीय साधनको उपयोग मितव्ययी तरिकाले दक्षतापूर्वक प्रभावकारी रूपमा भए वा नभएको,
(ग) तोकिएको समयमा पेश्की फस्यौंट भए नभएको र फर्स्यौट हुन बाँकी पेश्की रहे वा नरहेको,
(घ) कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुरूप लक्ष्य प्राप्ति गरे वा नगरेको,
(ङ) कार्यालयको वित्तीय प्रतिवेदनले आर्थिक कारोबारको सही र यथार्थ चित्रण प्रस्तुत गरे वा नगरेको,
(च) आन्तरिक नियन्त्रण प्रणाली पर्याप्त रहे वा नरहेको,
(छ) नियम ६१ बमोजिम कार्यालय प्रमुखले निरीक्षण गरे वा नगरेको ।
(७) आन्तरिक लेखापरीक्षकले ऐन तथा यस नियमावली बमोजिम विचार गर्नु पर्ने विषयहरुको रुजु सूची (चेकलिष्ट) तयार गरी सोको आधारमा आन्तरिक लेखापरीक्षण गर्नु पर्नेछ।
(८) आन्तरिक लेखापरीक्षकले लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण टिपोट, चेकलिष्ट र अन्य विवरण कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख समक्ष पेश गर्नु पर्नेछ। त्यस्तो विवरणको आधारमा आन्तरिक लेखापरीक्षक र कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुखले संयुक्त रूपमा आन्तरिक लेखापरीक्षण प्रतिवेदन तयार गरी सम्बन्धित कार्यालय र सोको तालुक कार्यालयमा पठाउनु पर्नेछ।
(९) तालुक कार्यालयले आफू मातहत कार्यालयले उपनियम (८) बमोजिम प्राप्त प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयन गरे वा नगरेको र कुनै बेरूजु कायम भएकोमा त्यस्तो बेरुजु समयमै फस्यौंट गरे वा नगरेको सम्बन्धमा अनुगमन गर्नु पर्नेछ।
(१०) कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रको कार्यालयको आन्तरिक लेखापरीक्षण सम्पन्न गरी सोको वार्षिक प्रतिवेदन भदौ मसान्तभित्र महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ।
(११) आन्तरिक लेखापरीक्षकले आन्तरिक लेखापरीक्षण गर्दा महालेखा नियन्त्रक कार्यालयले बनाएको आचारसंहिताको पालना गर्नु पर्नेछ।
(१२) महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षणको प्रभावकारिता अभिवृद्धि गर्न आचारसंहिता पालना भए वा नभएको तथा आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्य तोकिएको समयमा सम्पादन भए वा नभएको नियमित रूपमा अनुगमन गर्नु पर्नेछ।
(१३) महालेखा नियन्त्रक कार्यालयले उपनियम (१०) बमोजिमको प्रतिवेदनको आधारमा वित्तीय जोखिम विश्लेषण गर्दा कुनै कार्यालयको पुन आन्तरिक लेखापरीक्षण गर्न आवश्यक देखिएमा आन्तरिक लेखापरीक्षक खटाई पुन आन्तरिक लेखापरीक्षण गराउन सक्नेछ।
(१४) उपनियम (१०) बमोजिमको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा नऔंल्याइएको तर उपनियम (१२) बमोजिम अनुगमन वा उपनियम (१३) बमोजिम पुनः आन्तरिक लेखापरीक्षण गर्दा वा अन्तिम लेखापरीक्षण हुँदा बाध्यात्मक रुपमा पालना गर्नु पर्ने कुराहरु पालना नगरेको वा सावधानीपूर्वक आन्तरिक लेखापरीक्षण नगरेको देखिएमा सम्बन्धित आन्तरिक लेखापरीक्षकलाई ऐन तथा प्रचलित कानून बमोजिम कारबाही हुनेछ।